From http://www.ekantipur.com/nepal/article/?id=5792
तनहुँको डुम्रे बजारबाट दुई घन्टा ठाडो उकालो चढेपछि एउटा विकट गाउँ आइपुग्छ, उधिनढुंगा। गाउँको छेउमै ठूलो जंगलमा एउटा अनौपचारकि विद्यालय छ, जहाँ ढाकाको दौरा-सुरुवाल र गुन्यू-चोली लगाएका बालबालिका देखिन्छन्। उनीहरू खेल्दाखेल्दै पढिरहेका हुन्छन् र पढ्दापढ्दै खेलिरहेका।
खासमा यो माया युनिभर्स एकेडेमी हो। संस्थापक हुन्, मञ्जिल राना, २४। बाजेको थलो तनहुँ भए पनि काठमाडौँमा जन्मे-हुर्केका हुन् मञ्जिल। तीन वर्षअघि अमेरिकामा ह्युमन इकोलोजी पढ्दापढ्दै अमेरिकी शिक्षा प्रणालीमै खोट देखे उनले। पढाइ र व्यवहारमा पटक्कै संगति देखेनन्। त्यही बेला अमेरिकी प्रेमिकासँग पनि बिछोड भइदियो। अनि, निर्णय गरे, नेपालमै फर्किने र केही नयाँ काम गरेर देखाउने।
काठमाडौँबाट सोझै बाजेको थातथलो हानिए। गाउँको सरकारी स्कुलमा पढाउन खोजे तर ‘ओभर क्वालिफिकेसन’ भयो भन्दै मौका दिइएन। उनले आफ्नै ३० रोपनी बाँझो जग्गामा छिमेकी दलित, जनजाति, चेपाङ र अनाथ बालबालिकालाई भेला गरे। जंगलमै खेल्ने र रमाउने वातावरण तयार पारे।
मञ्जिललाई उनको शैक्षिक यात्रामा साथ दिने अरू दुई व्यक्ति छन्। भारत र अमेरकिामा पनि सँगै पढेका कोरयिन साथी सिन चुल युन र काठमाडौँ, मैतीदेवीका आशिष अधिकारी। आशिषले सेन्ट जेभियर्स कलेजबाट मास्टर्स इन सोसल वर्क सकेका हुन्। युन उनीसँगै तनहुँमा छन् भने आशिषले उदयपुरमा अर्को शाखा स्कुल सञ्चालन गरेका छन्। तनहुँ र उदयपुरमा गरी ६ देखि १२ वर्ष उमेर समूहका ९० विद्यार्थी छन्। यी बालबालिका अबको १० वर्षपछि देशका हरेक क्षेत्रमा नेतृत्व तहमा पुग्ने आशा छ उनलाई।
बिहान स्कुल पुग्नेबित्तिकै केटाकेटीहरू शिक्षकका अगाडि ठिंग उभिएर सरस्वती वन्दना गर्नुको सट्टा धीत मरुन्जेल खेल्छन्, एकअर्कालाई अंकमाल गर्छन् र कक्षामा छिर्छन्। कक्षाहरूलाई १ र २ भनेर वर्गीकरण गरिएको छैन। यसले विद्यार्थीहरूमा सानो-ठूलोको मानसिकता उत्पन्न हुनबाट रोक्ने मञ्जिल सुनाउँछन्। बरू कक्षालाई विद्यार्थीहरूको प्रकृति र व्यवहार अनुसार नाम दिइएको छ। जस्तै ः ‘मंकी क्लास’, ‘टाइगर क्लास’, ‘बियर क्लास’।
पाठ्यक्रम अन्य प्राइभेट स्कुलजस्तो भए पनि उनीहरू फरक ढंगबाट पढ्छन्। ‘ए फर एप्पल’ भन्दै स्याउको फोटो देखाउँदै पढाइ हुँदैन यहाँ। ‘ए फर अपार्टमेन्ट’ अनि विद्यार्थीलाई देखाइन्छ, खरले छाएको गाउँको पुरानो घर। यस्तो शैलीले विद्यार्थीलाई आफ्नो वास्तविकता बुझ्न सघाउने बताउँछन् मञ्जिल।
विद्यार्थीहरू स्वयंसेवी र शिक्षकसँगै निर्धक्क खेल्छन्। विद्यार्थीको आत्मबल बलियो छ। विद्यार्थीहरूले विदेशी स्वयंसेवीसँग निर्धक्क अंग्रेजीमा बहस गरेको देख्दा मञ्जिलको मन हषिर्त हुन्छ। भन्छन्, “अरू ठाउँमा पनि यस्ता विद्यालय खोल्नुपर्छ भन्ने हाम्रो सोच हो।”
मञ्जिलले बालमैत्री स्कुल चलाउन आजसम्म कसैबाट न अनुदान लिएका छन्, न लिन चाहन्छन्। निःशुल्क शिक्षा दिएबापत हरेक विद्यार्थीका अभिभावक महिनामा दुई दिन स्कुलमा आएर श्रमदान गर्छन्। शिक्षकलाई तलब दिन स्कुलले एक सयभन्दा बढी लोकल कुखुरा पालेको छ। केही बंगुर, सुंगुर र बाख्रा पनि छन्। धानखेती सुरु गरिएको छ। यसबाहेक, स्वयंसेवा गर्न आएका विदेशी विद्यार्थीसँग मासिक दुई सय डलर लिन्छन्। उदयपुरमा अग्र्यानिक खेती गर्ने र सस्तो होस्टल सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ।
विद्यार्थीहरू आफ्ना शिक्षकसँग घुमिरहन्छन्। तनहुँका विद्यार्थी उदयपुर जान्छन् भने उदयपुरका तनहुँ। यसलाई भिन्न स्थान र परिवेशमा हुर्केका केटाकेटीहरूबीच स्थानीय भाषा र संस्कृति बुझ्ने अवसरका रूपमा लिन्छन् मञ्जिल। उनी आफ्नै मिहिनेत र सीपलाई लागू गर्न पाएकामा खुसी छन्। भन्छन्, “उता पढेर ठूलो संस्थाको जागिर खाएको भए पैसा त कमाउँथेँ होला। तर, सन्तुष्टि अवश्य पाउँदिनथेँ।”